एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १३:०४
 एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको छ । नेपालले एसीसी प्रिमियर कपको उपाधिका लागि शनिबार युएईसँग खेल्ने छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनलमा स्पीन बलर चम्किएपछि नेपालले ओमानविरुद्ध शानदार जित हासिल गरेको हो । नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले पनि समान २–२ विकेट लिँदै नेपाललाई विजयी बनाए ।

Advertisement

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६-४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए ।

देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६–४ को अवस्थामा पुगेको थियो भने त्यसपछि १२९–५ हुँदै १४७ रनमा अलआउट नै भयो ।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन साहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए ।

फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ । सेमिफाइनल जितेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने छनोट भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×