गाडीसँगै जलेर मृत्यु भएकाको पहिचान खुल्यो

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १५:०४

काठमाडौं । चितवनको भरतपुरमा गुडिरहेको जीएसी आयोन वाई मोडेलको विद्युतीय गाडीमा आगलागी हुँदा आज (शुक्रबार) मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मृतक भरतपुर महानगरपालिका–११ का ५५ वर्षीय अमर पराजुली रहेको पुष्टि भएको हो । पराजुली नारायणी विद्या मन्दिरका पूर्वसञ्चालकसमेत हुन् । बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभीमा गुड्दागुड्दै अचानक आगलागी भएको थियो ।

पारिवारिक स्रोतका अनुसार बिहीबार घरबाट निस्किएका पराजुली हेटौँडा गएका थिए । टाँडी हुँदै भरतपुरस्थित घर फर्किने क्रममा टिकौलीको जंगल पार गरेपछि गाडीमा आगलागी सुरु भएको स्थानीय प्रहरीले जनाएको छ । आगलागीको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गाडीभित्र रहेका पराजुलीको जलेर मृत्यु भइसकेको थियो ।

Advertisement

पूर्वसैनिकसमेत रहेका पराजुलीले उक्त गाडी करिब एक वर्षअघि खरिद गरेका थिए । आगलागीका कारण शव पहिचान गर्न कठिन हुने अवस्थामा पुगेको भए पनि परिवारले मृतक पराजुली नै भएको सनाखत गरिसकेको छ । डीएनए परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हाल उनको शव भरतपुर अस्पतालमा राखिएको छ । पराजुलीका श्रीमती, दुई छोरी र एक छोरा छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×