
चितवन । त्रिशूली नदीको बाढीले सडकको जग भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीर खण्ड खुलाउनका लागि तीव्र गतिमा काम भइरहेको छ ।
भित्तातर्फबाट नयाँ ट्रयाक खन्ने काम लगभग सकिएसँगै अबको दुईदेखि तीन दिनभित्र सडकमा यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिमखण्ड) ले जनाएको छ ।
हाल नयाँ ट्रयाकलाई ‘ग्रेड डाउन’ गरी सबग्रेड तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ । सडक खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरी रातदिन काम भइरहेको योजनाले जनाएको छ ।
शनिबारसम्म कटिङको काम लगभग सम्पन्न भएपछि अहिले ग्रेड सुधारका लागि दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर परिचालन गरिएको छ । ग्रेड मिलाउने काम सकिए लगत्तै रोलर थप गरी सडकको रोलिङ सुरु गरिने छ ।
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडकको जग नै भासिएपछि कृष्णभीर खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो । राजधानीलाई देशका विभिन्न भूभागसँग जोड्ने प्रमुख ‘लाइफलाइन’ सडक अवरुद्ध भएपछि वैकल्पिक ट्रयाक निर्माणलाई उच्च प्राथमिकता दिँदै सडक खुलाउने काम अघि बढाइएको हो ।



















