भोटेकोशी बाढीको कारण खोज्न वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार १७:२८
भोटेकोशी बाढीको कारण खोज्न वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययन प्रक्रिया अघि बढाएको छ । बाढीको उत्पत्ति, त्यससँग जोडिएका हिमाली भू–जोखिम, घटनाक्रम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञसहितको समिति गठन गर्दैछ । जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार रसुवाको बाढीलाई सामान्य बाढी वा अतिवृष्टिका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय, जल विज्ञानसम्बन्धी तथा अन्य जोखिम एकपछि अर्को जोडिँदै विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गरिनेछ ।

Advertisement

जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनअनुसार रसुवाको घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाणबाट प्रमाणीकरण हुन बाँकी छ । त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको आयोगको निष्कर्ष छ ।

मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा गरिनेछ । पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तटीय क्षेत्रसम्मको घटनाक्रमको समय क्रम र भौगोलिक क्षतिको अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टान तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्धबारे अध्ययन हुनेछ ।

दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ । तेस्रो तथा महत्त्वपूर्ण चरणमा मानवजनित जलवायु परिवर्तनले यी जोखिमको सम्भावना, तीव्रता वा पूर्वतयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक मूल्याङ्कन गरिनेछ ।

यसअघि सन् २०२४ सेप्टेम्बर २६ देखि २८ सम्म नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोको घटनालाई अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन समूह ‘वर्ल्ड वेदर एट्रिब्युसन’ को अध्ययनले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावका रूपमा मूल्याङ्कन गरेको थियो । तर, रसुवा–भोटेकोशीको घटना फरक प्रकृतिको हुन सक्ने भएकाले प्रत्यक्ष तुलना वा पूर्वनिर्धारित निष्कर्षभन्दा वैज्ञानिक प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो ।

प्रस्तावित अध्ययनमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान तथा नदी जलयान्त्रिकी, मौसम विज्ञान तथा जलवायु विज्ञान, रिमोट सेन्सिङ, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी कारक विश्लेषणलगायत विषयका विशेषज्ञलाई सहभागी गराउने तयारी छ ।

भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार प्रकृतिको भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेटिनेछ । आवश्यकताअनुसार वैज्ञानिक सहकार्य तथा तथ्यांक आदानप्रदानको संयन्त्र विकास गर्ने प्रस्तावसमेत गरिएको छ । मन्त्रालयका अनुसार प्रस्तावित उच्चस्तरीय वैज्ञानिक समितिले बाढीको सम्भावित उद्गमस्थलको स्थलगत भ्रमण गर्नेछ । स्थल निरीक्षणका क्रममा विस्तृत तस्बिर तथा भिडियो अभिलेख तयार गर्नुका साथै आवश्यकताअनुसार ड्रोन र स्याटेलाइट अवलोकनसमेत प्रयोग गरिनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×