
काठमाडौं । विघ्नहर्ता तथा अग्रपूजाको अधिकार प्राप्त भगवान् श्री गणेशको जन्मोत्सवका रूपमा गणेश चतुर्थी पर्व आज (मंगलबार) देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यताअनुसार बिहानैदेखि काठमाडौंसहित देशका विभिन्न भागमा रहेका गणेश मन्दिरमा पूजाआराधना तथा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायतका मन्दिरमा विशेष पूजा भइरहेको छ । गणेशलाई जुनसुकै धार्मिक तथा शुभकार्यमा अग्रपूजा गर्ने परम्परा रहेको छ ।
धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रतको पारायणपछि गणेशको व्रत गर्ने शास्त्रीय मान्यता छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गर्ने व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।
मंगल चतुर्थीसमेत भनिने आजको दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउने गर्छ । यस अवसरमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा पनि रहेको छ । यस वर्ष गणेश चतुर्थी मंगलबार परेकाले यसको थप विशेष महत्व रहेको बताइएको छ ।
राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि विभिन्न कार्यक्रम आयोजना गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ । धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईका अनुसार विभिन्न गणेश मन्दिरमा पूजा आराधनासहित प्रवचन कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय धर्मसभाले २०६५ सालदेखि गणेश रथयात्रासमेत गर्दै आएको छ । सामान्यतया भाद्र शुक्ल पञ्चमीका दिन पर्ने पञ्चमी पनि मंगलबार नै परेको छ ।



















