
विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य (प्रदेश सांसद) भीम पराजुलीले पार्टी सभापति गगनकुमार थापाको पक्षमा उभिने घोषणा गरेका छन् ।
कांग्रेसको इतर अर्थात् शेरबहादुर देउवा समूहले समानान्तर अधिवेशनका लागि भदौ २७ गते पराजुलीलाई जिम्मेवारी दिएको थियो । त्यसको केही दिनमै पराजुलीले आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्दै थापा नेतृत्वको समूहमा रहने स्पष्ट पारेका हुन् ।
पराजुलीले मंगलबार सामाजिक सञ्जालमार्फत कांग्रेसलाई थप सुदृढ र गतिशील बनाउन थापा नेतृत्वमा समर्पित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । उनले आफू नेपाली कांग्रेसको चारतारे झन्डा र चुनाव चिह्न रुखप्रति प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।
यसअघि कृष्णप्रसाद सिटौलानिकट मानिँदै आएका पराजुलीलाई देउवा समूहले मोरङमा समानान्तर अधिवेशन गराउने जिम्मेवारी भदौ २७ गते दिएको थियो । तर, उनले आफू कांग्रेसकै मूलधारमा रहेर थापा पक्षलाई साथ दिने निर्णय सार्वजनिक गरेका हुन् ।
विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका पराजुली कोशी प्रदेश सरकारमा वन, पर्यटन तथा वातावरण मन्त्रीसमेत भइसकेका छन् । थापा पक्षमा खुलेसँगै उनी उक्त समूहबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् ।
थापा नेतृत्वको केन्द्रीय समितिले कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समिति सदस्यसरहको जिम्मेवारी दिने निर्णय केही दिनअघि गरेको थियो ।


























