
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकातिर देश विपत्तिको मारमा परिरहेको र अर्कोतिर बजारमा महँगी तथा अराजकता बढ्दा पनि सरकार मौन बसेको टिप्पणी गरे ।
उनले अत्यावश्यक वस्तुको मूल्य अकासिएको भन्दै सरकारको आलोचना गरे । ‘प्याज, चिनी, चामल र तेलजस्ता अत्यावश्यक चिजको भाउ अकासिएको छ। चिल्ला गाडी चढ्नेहरूलाई यसको केही फरक पर्दैन, तर सामान्य जनताको ढाड सेकिइसकेको छ,’ उनले भने ।
सांसद प्रसाईंले नवनियुक्त उद्योगमन्त्रीलाई शुभकामना दिँदै कालोबजारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । ‘नयाँ मन्त्रीज्यूको भूमिका यस पटक नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो नहोस्। कालोबजारी नियन्त्रण गर्न साँच्चिकै नयाँ किसिमको भूमिका निर्वाह गर्न सक्नुहोस्,’ उनले भने ।
प्रसाईंले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको दयनीय अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराए । क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सार्वजनिक यातायातले सर्वसाधारणलाई दैनिक सास्ती दिइरहेको बताए । उनले गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै राजधानीको ट्राफिक व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न उठाए ।

























