
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठूलो सङ्कटबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले नेपाल कतै विदेशीको खेलमैदान बन्ने त होइन भन्ने चिन्ता व्यक्त गरे ।
नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठूला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्नेमा उनले जोड दिए । मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरूकै काँधमा रहेको दाबी गरे ।
गणतन्त्र, संविधान र सङ्घीयताको संरक्षण तथा सुदृढीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए । राष्ट्रिय राजनीतिमा नेकपाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै नेपालले लोकतन्त्र, गणतन्त्र, संविधान र सङ्घीयताको रक्षाका लागि विचार मिल्ने तथा लोकतन्त्रका लागि लडेका शक्तिहरू एक भएर अघि बढ्नुपर्ने धारणा राखे ।
नेपालको भूराजनीतिक अवस्था र छिमेकी सम्बन्धबारे उनले भने, ‘नेपालजस्तो भूपरिवेष्टित देश, दुई ठूला देशको बीचमा अवस्थित यो देश कसरी शान्तिपूर्ण ढङ्गले बाँच्ने, कसरी छिमेकीहरूसँग सुमधुर सम्बन्ध बनाउने र नेपालको स्वाभिमानको रक्षा कसरी गर्ने भन्ने भावनाबाट हामी अगाडि बढ्नुपर्छ ।’
संविधान र व्यवस्थाको संरक्षणको जिम्मेवारी आफूहरूको रहेको उल्लेख गर्दै उनले आफूहरूले ल्याएका परिवर्तनको रक्षा गर्नुपर्ने बताए । ‘हामीले ल्याएका परिवर्तनहरूको रक्षा गर्ने दायित्व हाम्रै हो । आमाको काम छोराछोरीलाई जन्माउने मात्र होइन, हुर्काउने पनि हो । उनीहरूलाई राम्रो बनाउने, योग्य र सक्षम बनाउने पनि हो। यो सबै जिम्मेवारी पूरा गर्न तपाईंहरूको सहयोग चाहिन्छ,’ उनले भने ।

























