
विराटनगर । नेपाली कांंग्रेस मोरङले पार्टीभित्र देखिएको विवाद समाधान गरी अघि बढ्नुपर्ने जनाएको छ । मोरङका नेताहरूले पार्टीभित्र देखिएको विवाद समाधान गरी एकताको आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस मोरङका उपसभापति तथा महासमिति सदस्य नागेश कोइरालाले पार्टीको एकता, संस्थागत मर्यादा र जनविश्वास जोगाउनु सबैको दायित्व भएको बताएका छन् । उनले वर्तमान विवाद समाधान गरी सबैलाई पार्टीको एकतामा बाँध्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाउने सर्वोच्च लोकतान्त्रिक अभ्यास हुनुपर्ने उल्लेख गर्दै कोइरालाले सबैको सहमति र सहभागितामा हुने एकताको महाधिवेशन अहिलेको आवश्यकता भएको बताए ।
‘यति बेला पार्टीभित्र एकता चाहेका हौँ । जसमा सबैको सहमति र सहभागितामा हुने एकताको महाधिवेशन सबैको अन्तरआत्माको चाहना रहेको छ,’ उनले भने, ‘यसले पार्टीलाई बलियो, सबल र सक्षम बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ।’
उनले पार्टीभित्र गुट विस्तारभन्दा एकता, जित–हारको राजनीतिभन्दा सहमतिको राजनीति तथा फरक–फरक महाधिवेशनभन्दा साझा एकताको महाधिवेशन आवश्यक रहेको बताए ।
त्यस्तै, कांग्रेस मोरङ क्षेत्र नम्बर ६ (ख) का सभापति मधुबाबु तिवारीले पार्टीभित्रको विवाद समाधान नगरी अघि बढाइएको दुईवटा महाधिवेशन प्रक्रियाले समस्या समाधान गर्नुको सट्टा समानान्तर संगठन, नेतृत्व र वैधानिकताको दाबी सिर्जना गर्ने बताएका छन् ।
पछिल्लो घटनाक्रमले तल्लो तहमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै तिवारीले पार्टीको एकता, लोकतान्त्रिक मूल्य–मान्यता, संस्थागत मर्यादा र ऐतिहासिक विरासतको संरक्षण नेता कार्यकर्ताको प्राथमिकता हुनुपर्ने बताए । समस्याको समाधान नगरी जबरजस्ती प्रक्रिया अघि बढाउँदा पार्टी विभाजनको जोखिम बढ्ने उनको भनाइ छ।
विज्ञप्तिमा महासमिति सदस्य क्षेत्र नम्बर २ का गोपालमानसिंह राजभण्डारी, क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल तथा मोरङ क्षेत्र नम्बर ६ का महासमिति सदस्य एवं पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतले पनि पार्टीलाई विभाजनतर्फ नभई एकताको बाटोमा अघि बढाउन नेतृत्वले सक्रियता बढाउनुपर्ने बताएका छन् ।


























