
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्न विभिन्न शक्ति सक्रिय रहेको आरोप लगाएका छन्। संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले त्यस्ता गतिविधि देखिने गरी नै भइरहेको दाबी गरे।
‘केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्। देखिएरै गरेका छन्। आश्चर्य लाग्ने तरिकाले गरेका छन्,’ उनले भने। ओलीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत नेपाललाई गलत दिशातर्फ धकेल्ने प्रयास गरेको आरोपसमेत लगाए।
‘हामीले देखेका छौँ। मौन अवधिभित्र बीबीसीले नेपाललाई झुटा कुरा सम्प्रेषण गरेर, अल्मल्याएर, गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्यो,’ उनले भने। पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीलाई कमजोर बनाउन गत वर्ष भदौ २३ र २४ गते ‘षड्यन्त्रपूर्ण उपद्रव’ आयोजना गरिएको दाबी गरे।
‘संविधान भनेको देशको मूल कानुन हो। त्यसअनुसार चल्ने लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ गते षड्यन्त्रपूर्ण उपद्रवको आयोजना गरियो,’ उनले भने। भदौ २३ र २४ गतेको आन्दोलनमा को–को संलग्न थिए भन्ने विषय विस्तारै खुल्दै गएको पनि ओलीले बताए।
‘को–को संलग्न थिए, के–के संलग्न थिए, त्यसबारे खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै र लेख्दै गएका छन्,’ उनले भने।ओलीले संविधान जारी भएयताका वर्षमा विभिन्न चुनौतीको सामना गर्दै संविधानको रक्षा र कार्यान्वयन गर्दै आएको पनि बताए।

























