
चितवन । चितवन राष्ट्रिय निकुञ्जको बिसहजारी तालनजिक मृत अवस्थामा भेटिएको जंगली भाले हात्ती ‘रोनाल्डो’ को मृत्यु करेन्ट लागेर भएको खुलेको छ । नेपाली सेनाको ब्यारेकमा लगिएको विद्युतको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उसको मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार आर्मीको वरण्डाभार पोस्टमा करिब १७ फिट माथिबाट विद्युतको कालो तार तानिएको थियो । ‘त्यो तारलाई हात्तीले खाँदा करेन्ट लागेको देखिन्छ,’ उनले भने, ‘कालो तार हात्तीको मुखमै थियो ।’ हात्ती सडकमै मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । हात्तीको मृत्यु हिजो राति भएको अनुमान गरिएको छ । हात्ती मरेको स्थानबाट आर्मीको सुरक्षा पोस्ट सात सय मिटर टाढा छ ।
५३ वर्षीय रोनाल्डो प्रजननका लागि उपयुक्त मानिएको जंगली भाले हात्ती थियो । निकुञ्ज प्रशासनका अनुसार सौराहास्थित हात्तीसारमा मात्रै उसका ३३ वटा बच्चा छन् । उसबाट अझै ६ वटा हात्ती गर्भवती रहेका छन् । उसले २२ जनाको ज्यान समेत लिएको थियो । यद्यपि पछिल्लो वर्ष भने ऊ शान्त थियो ।
सौराहाको हात्तीसार उसकै कब्जामा रहेको थियो । उसले अन्य जंगली भाले हात्तीलाई त्यहाँ आउन दिँदैनथ्यो । केही साताअघिदेखि भने उसको स्थान ओगट्दै गोविन्दे हात्ती सौराहामा रहेको छ ।
हात्ती प्रजनन केन्द्रका मनपुरण महत्तोका अनुसार गोविन्दे हात्ती रोनाल्डो जत्तिको प्रजननका लागि उपयुक्त छैन । उनले रोनाल्डो २४ वर्षदेखि निकुञ्जमा देखिँदै आएको बताए । ‘प्रजनन केन्द्र स्थापना भएपछि जन्मिएका ७१ वटा बच्चामध्ये रोनाल्डोका मात्रै ३३ वटा छन्,’ उनले भने, ‘अरू हात्तीले यति धेरै प्रजनन गर्न कठिन छ । अहिले आएको गोविन्देले सक्दैन ।



















