एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १६:१६

काठमाडौं । नेकपा (एमाले) भित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी छ। कार्यदलमा रहेका पदाधिकारीबीच गत भदौ २८ गते काभ्रेपलाञ्चोकको बल्थलीमा भएको छलफलका आधारमा प्रतिवेदनलाई एकीकृत गर्न लागिएको हो। कार्यदलको आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा सहमतिका आधारमा एकीकृत प्रतिवेदन तयार गरेर सचिवायको बैठकमा पेस गर्ने समझदारी भएको एमालेका सचिव महेश बस्नेतले बताए।

सचिव बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने, राजीनामा नमाग्ने, पुनर्गठनको कार्यसूचीका आधारमा विशेष महाधिवेशन नडाक्ने र वर्तमान सरकारका काम कारबाहीबारे छलफल गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउन सकिने विषय प्रतिवेदनमा थप्नु पर्ने बताए। उनले नेतृत्वको कार्यकाल, उमेर हद जस्ता विषयमा विधानमा गरिनु पर्ने संशोधनबारे नियमित विधान महाधिवेशनमा छलफल गर्ने र कार्यदललाई प्रदेशस्तरमा प्राप्त सुझावलाई प्रतिवेदनको अङ्गका रुपमा राख्ने विषयमा पनि कुराकानी भएको बताए।

Advertisement

उनले एमालेभित्रको बदलिँदो मनोविज्ञान र परिस्थिति तथा पार्टीलाई एकताबद्ध बनाएर लैजान खुला ढङ्गले छलफल गरेर साझा प्रतिवेदन सचिवालयको बैठकमा पेस गरिने उनले बताए। उनले पार्टीभित्र नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा नआउने स्पष्ट गरे। गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलले प्रदेशस्तरमा पुगेर सुझाव संकलन गरेको थियो। बल्थलीमा भएको बैठकले पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएको थियो।

कार्यदलका लागि महासचिव पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक थापाकै फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौं बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। गत जेठ २६ गते पार्टीका अध्यक्ष ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो। एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक यही असोज ५, ६ र ७ गतेका लागि तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×