
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ । लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर सोमबार ‘जीवन विकासको आह्वान देश विकासमा श्रमदान’ भन्ने मूल नाराका साथ ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो ।
कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखा कार्यालयहरू छन् । सबै शाखा कार्यालयहरूले आफ्नो कार्यक्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेको लघुवित्तका प्रवक्ता सुदीपकुमार मण्डलले जानकारी दिए ।
स्वयंसेवक दिवसमा लघुवित्तले श्रमदान मार्फत १६ अति विपन्न परिवारको घर पुनः निर्माण गरेको छ । शाखा कार्यालयहरूको अग्रसरतामा घर बनाउन नसक्ने अवस्थाका अति विपन्न नागरिकको घर पुनर्निर्माण गरिदिएको हो ।
जीवन विकासका ३६ वटा शाखाले विद्यालय सरसफाइ र खेलकुद कार्यक्रम गरेका छन् । २६ वटा शाखाले मन्दिर सरसफाइ, डस्टबिन वितरण तथा वृक्षारोपण गरेका छन् । २३ वटा शाखाले विद्यालय सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । १२ वटा शाखा कार्यालयले वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । १९ स्थानमा मन्दिर सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ । ५ वटा शाखाले बजार सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेका छन् ।
४ वटा शाखाले शाखाको कार्य क्षेत्रभित्र रहेका ४ वटा अति विपन्न परिवारलाई सहयोग गरेका छन् । २ स्थानमा चौतारी निर्माण गरेको छ । ५ वटा शाखाले बजार सरसफाइ तथा वृक्षारोपण गरेका छन् । शाखा कार्यालयहरूले सार्वजनिक भवन सरसफाइ तथा वृक्षारोपण, खेलमैदान सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, वृद्धाश्रमलाई खाद्यान्न सहयोग, इको भिलेजमा वृक्षारोपण, एक स्थानमा प्रहरी कार्यालय सरसफाइ गरेका छन् ।
जीवन विकासले आयोजना गरेको सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधि, थ्री जिरो क्लब, नवबिहानी समूह, लघुवित्तका कर्मचारी, स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरू सहभागी थिए ।
२०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि समुदायमा श्रमदानको भावना विकास गर्नका लागि निरन्तर रूपमा स्वयंसेवक दिवस मनाउँदै आएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

























