राष्ट्रियतादेखि पार्टी र नेतृत्वसम्मको रक्षाका लागि गोली खान तयार छौँ : पर्शुराम बस्नेत

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार ११:४२

विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य पर्शुराम बस्नेतले पार्टीको नीति र नेतृत्वको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको संरक्षणलाई पहिलो सर्त बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पहिलो धारणा राख्दै बस्नेतले विगतमा राष्ट्रियता, नीति, देश, आन्दोलन र नेतृत्वको रक्षाका लागि आफूहरू मृत्युवरण गर्न र गोली खानसमेत तयार भएको बताए । तर अहिले पार्टी, नेतृत्व, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गाली खानसमेत तयार नहुने अवस्था देखिएको उनको भनाइ छ । यस्तो प्रवृत्तिका कारण राष्ट्रियता र आन्दोलन कमजोर हुँदै जाने भन्दै बस्नेतले चिन्ता व्यक्त गरे ।

Advertisement

‘हिजो राष्ट्रियताको रक्षाको लागि, नीतिको रक्षाको लागि, देशको रक्षाको लागि, आन्दोलनको रक्षाको लागि, नेतृत्वको रक्षाका लागि हामी मृत्युवरण गर्न तयार थियौँ, गोली खान तयार थियौँ,’ बस्नेतले भने, ‘तर, आज हामी नीतिको रक्षाको लागि, नेतृत्वको रक्षाको लागि, देशको रक्षाको लागि, लोकतन्त्रको रक्षाको लागि, संविधानको रक्षाको लागि, राष्ट्रियताको रक्षाको लागि हामी गाली खान तयार छैनौँ । त्यसकारण राष्ट्रियता कमजोर भएको छ, आन्दोलन कमजोर भएको छ ।’

उनले एमालेलाई र अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर नबनाएसम्म मुलुकमा कुनै पनि गतिविधि अघि बढ्न नसक्ने तथा विदेशी चलखेलसमेत अगाडि बढ्न नसक्ने निष्कर्षका साथ एमालेमाथि चौतर्फी प्रहार भइरहेको बताए । बस्नेतका अनुसार एमालेमाथि मात्र नभई संविधान र वर्तमान व्यवस्थामाथिसमेत प्रहार भइरहेको छ ।

एमालेलाई छिन्नभिन्न बनाउने, पार्टी विभाजन गर्ने र पुनर्गठनका नाममा पार्टीभित्र विभाजनको रेखा कोर्ने काम भइरहेको भन्दै उनले त्यस्तो प्रयासलाई जारी केन्द्रीय कमिटी बैठकले खारेज गरेको बताए । उनले पार्टी, आन्दोलन, नीति र नेतृत्वको रक्षाका लागि एमालेका नेता–कार्यकर्ता विगतमा जस्तै अहिले पनि आवश्यक त्याग गर्न तयार हुनुपर्ने बताए ।

उनका अनुसार विगतमा आन्दोलनको रक्षाका लागि गोली खान तयार भएको एमाले आज पनि नीति, नेतृत्व, देश, लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि मृत्युवरण गर्न र गोली खान तयार हुनुपर्छ । ‘हामी जसरी हिजो गोली खान तयार थियौँ, त्यसैगरी आज पनि हामी मृत्युवरण गर्न तयार छौँ, गोली खान तयार छौँ,’ उनले भने ।

बस्नेतले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै एकताको विकल्प नभएको बताए । उनका अनुसार पार्टीभित्रको एकताबाट मात्रै पुनर्जागरण पैदा गर्न सकिन्छ । ‘एकता, एकता, एकताको विकल्प छैन । एकताबाट मात्रै पुनर्जागरण पैदा गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने ।

यही निष्कर्ष जारी केन्द्रीय कमिटी बैठकले समेत निकालेको बस्नेतले बताए । उनले अब एमालेले आफ्नो संकल्प पूरा गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

एकताबद्ध एमालेले अध्यक्ष केपी शर्मा ओलीको अगुवाइ र नेतृत्वमा पुनः आन्दोलनलाई उठाउने तथा मुलुकको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प लिनुपर्ने उनको भनाइ छ । बस्नेतले अध्यक्ष ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको उल्लेख गर्दै बैठकका अन्य विषय पनि सर्वसम्मत र एकताबद्ध रूपमा पारित हुने बताए ।

उनका अनुसार पार्टीभित्र एकताको सन्देश दिँदै बैठक सम्पन्न हुने छ । ‘अध्यक्षले ल्याएको राजनीतिक प्रतिवेदन जसरी सर्वसम्मत रूपमा पास भएको छ, त्यसैगरी सबै विषयहरू सर्वसम्मत रूपमा, एकताबद्ध रूपमा र एकताको सन्देश दिँदै यो बैठक सम्पन्न हुनेछ,’ बस्नेतले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×