कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३० वटा ढोका खोलियो

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १३:५९

इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ३० वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीमा जलस्तर बढ्दै गएपछि ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ । नियमअनुसार बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि पश्चिमतर्फ, दुई लाख नाघेपछि पूर्वतर्फ र तीन लाख नाघेपछि मध्यभागमा समेत रातो बत्ती बाल्ने व्यवस्था छ ।

शुक्रबार दिउँसो १ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पानी बगिरहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । ब्यारेजमा रहेका ५२ वटा मूल ढोका र नहरतर्फका ४ वटा गरी कुल ५६ ढोकामध्ये ३० वटा खोलिएको उनले बताए ।

Advertisement

ब्यारेज निर्माण हुँदा नौ लाख ५० हजार क्युसेकसम्म भारवहन क्षमता राखिएको थियो । तर, ब्यारेजको माथिल्लो भागमा बालुवा जम्मा हुँदा जोखिम बढ्ने गरेको बताइएको छ ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले ब्यारेज कन्ट्रोल रुमले जलस्तरको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ । पानीको सतह बढ्दै गएपछि कोशी नदी आसपासका तटीय क्षेत्र र जोखिमयुक्त बस्तीमा उच्च सतर्कता अपनाइएको छ । सम्भावित जोखिमका बारेमा स्थानीयलाई जानकारी गराउन सुरक्षाकर्मीले माइकिङसमेत गरिरहेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले विशेषगरी नदीबाट बगेर आउने काठदाउरा निकाल्न जाने कार्य जोखिमपूर्ण हुन सक्ने भएकाले त्यस्तो काममा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कोशी प्रदेशमा अझै वर्षाको सम्भावना रहेकाले नदीको बहाव तत्कालै घट्ने अवस्था नरहेको सुरक्षा निकायको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ ।

वर्षा र नदीको जलस्तर बढिरहेको अवस्थामा सप्तकोशी आसपासका बासिन्दालाई नदी किनारतर्फ नजान तथा सम्भावित जोखिमप्रति सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×