
नवलपरासी । निरन्तरको वर्षाका कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयवासी जोखिममा परेका छन् । सुस्ता गाउँपालिका–५ स्थित थारु टोल डुबानमा परेपछि त्यहाँका ७८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
नारायणीको बाढी सोझै बस्तीमा छिरेपछि नेपाल प्रहरी र उद्धारकर्मीको टोलीले सूचना प्रवाह गर्दै स्थानीयलाई सुस्तामै रहेको सुरक्षित आश्रयस्थल (सामुदायिक भवन) तथा आफन्तको घरमा स्थानान्तरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार थारु टोलका बासिन्दालाई पूर्वसावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । बाढीका कारण थारु टोल उच्च जोखिममा परेकाले सबै ७८ परिवारलाई सुरक्षित आश्रयस्थल र आफन्तकोमा सारिसकिएको उनले बताए ।
लगातारको वर्षा र बाढीले घरसँगै स्थानीयको खेतबारी र बाटोघाटो पूर्ण रूपमा डुबानमा परेको छ । स्थानीयका अनुसार नारायणीको बाढीले किसानहरूको उखु र धान बालीमा व्यापक क्षति पुर्याएको छ ।
नारायणी नदीले वर्षायाम सुरु भएसँगै निर्माण गरिएको अस्थायी बाँध कटान गर्दै सुस्ताको ठूलो भूभाग नदीमा मिसाइसकेको छ । नदीको सतह अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

























