
काठमाडौं। प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसले आफ्नो क्षेत्रीय अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शनिबारबाट सुरु हुने भनिएको अधिवेशन अब असोज १३ गतेसम्म सञ्चालन हुनेछ।
कटुवालले मौसमका कारण निर्धारित समयमा तीन दिन थप गरिएको जानकारी दिए। मधेश प्रदेशलगायतका केही जिल्लामा वडा अधिवेशन सम्पन्न हुन ढिलाइ भएकाले पनि क्षेत्रीय अधिवेशनको मिति धकेलिएको हो।
उनले असोज १३ गतेसम्म प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएमा महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै समस्या नहुने बताए। यद्यपि, केही ढिलाइ भएमा महाधिवेशनको उद्घाटन असोज १८ गते गर्नुपर्ने अवस्था आउन सक्ने उनले उल्लेख गरे।
कांग्रेसमा यसपटक पालिका सभापति र प्रदेशसभा क्षेत्रीय सभापति पनि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेकाले अधिवेशन अनिवार्य मानिएको छ।

























