
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान उच्च बिन्दुमा पुगेको बहाव दिउँसोसम्म आइपुग्दा क्रमशः घटिरहेको हो ।
कोशी ब्यारेजमा शनिबार बिहान ५ः१५ बजे सप्तकोशीको बहाव प्रतिसेकेण्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन गरिएको थियो । पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटामध्ये ४३ वटा ढोका खोलिएका थिए ।
तर, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा कम भएसँगै नदीमा पानीको बहाव पनि क्रमशः घट्न थालेको छ । शनिबार दिउँसो १ः१५ बजे कोशी ब्यारेजमा पानीको बहाव २ लाख ९८ हजार २ सय ७५ क्युसेक मापन गरिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार बहाव घटेसँगै ब्यारेजमा खोलिएका ढोकाको संख्या पनि ३९ मा झारिएको छ ।
केही घण्टामै नदीको बहाव करिब १८ हजार ५ सय २० क्युसेकले घटेको हो । पहाडी क्षेत्रमा वर्षा कम हुँदै गएपछि सप्तकोशीको बहाव क्रमशः घट्ने क्रममा रहेको जानकारी खड्काले दिए ।
बहाव घट्न थाले पनि सप्तकोशीमा जोखिम भने कायमै रहेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । नदीको बहाव अझै उच्च रहेकाले कोशीको पश्चिमी धारले कटान गरिरहेको सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलंका टापुका बासिन्दा त्रसित छन् ।
पश्चिमी धारबाट पानी बस्तीको दिशातर्फ ओभरफ्लो हुन थालेपछि स्थानीय जोखिममा परेका हुन् । पूर्व र पश्चिम दुवैतर्फ कोशी नदीले घेरिएको श्रीलंका टापु बाढी र कटानका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।
यस्तै, उदयपुरको बेलका नगरपालिका–८ स्थित भाटेपुल क्षेत्रमा पनि कोशीले कटान गरिरहेको छ । नदीको बहाव उच्च रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
हाल नदीको बहाव घट्ने क्रममा रहे पनि पहाडी तथा हिमाली क्षेत्रमा पुनः वर्षा भए बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । प्रशासनका अनुसार बहाव घट्दो क्रममा रहे पनि जोखिम कायमै रहेको हो ।



















