
काठमाडौं । पश्चिम नेपालमा भारी वर्षा हुने क्रम अझै जारी रहेकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा पश्चिमका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ । पाल्पाको अर्चलेमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । महाशाखाले १५० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षाका रूपमा वर्गीकरण गर्दै आएको छ ।
पश्चिमका केही क्षेत्रमा अहिले पनि हल्कादेखि भारी वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा शनिबार दिउँसोदेखि रातिसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ती प्रदेशका करिब ५० देखि ८० प्रतिशत भूभागमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशको सोलुखुम्बु तथा बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक र रसासहितका केही क्षेत्रमा समेत भारी वर्षा भएको छ । तर, कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा वर्षा कम हुँदै गएको छ । वर्षा कम भएको स्थानमा घाम लाग्ने र बादल लाग्ने क्रम देखिएको छ ।
नेपालमा अहिले भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास विकसित न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविद् लामिछानेले बताएका छन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ केन्द्रित भएकाले पश्चिम नेपालमा वर्षाको मात्रा बढेको उनको भनाइ छ ।
उक्त मौसम प्रणाली क्रमशः पश्चिमतर्फ सर्दै कमजोर हुँदै गए पनि शनिबार र आइतबारसम्म पश्चिम नेपालमा यसको प्रभाव रहने महाशाखाको अनुमान छ । आइतबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा जारी रहनेछ ।
यसपछि भने मौसममा क्रमिक सुधार आउने देखिएको छ । आइतबार रातिदेखि वर्षाको प्रभाव घट्दै जाने र सोमबारबाट देशका अधिकांश क्षेत्रमा मौसम सुधार हुने महाशाखाले जनाएको छ । पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि सोमबारदेखि देशभरको मौसम तुलनात्मक रूपमा सफा रहने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले पश्चिमी क्षेत्रमा जोखिमअनुसार सुन्तला र रातो रङको चेतावनी जारी गरेको छ । रातो रङको चेतावनी दिइएका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम अत्यधिक रहेको जनाइएको छ । पूर्वी क्षेत्रमा भने वर्षाको मात्रा घट्दै गएकाले पहेँलो रङको सतर्कता कायम गरिएको छ ।
पश्चिम नेपालमा ११ गतेसम्म मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै पहिरो, डुबान र कटानको जोखिम रहने महाशाखाले जनाएको छ । मौसमविद् लामिछानेले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारीसहित सतर्क रहन आग्रह गरेका छन् ।

























