
भोजपुर। केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण भोजपुरको जनजीवन प्रभावित बनेको छ। लगातारको झरीले पहाडी तथा ग्रामीण सडक हिलाम्य हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो।
सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ। सवारीसाधन नचल्दा बिरामी तथा अशक्तलाई उपचारका लागि अस्पतालसम्म पुर्याउनसमेत समस्या भइरहेको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय धनराज राईले बताए।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले असोज ८ गतेदेखि भोजपुर सदरमुकामबाट उत्तरी क्षेत्रको षडानन्द नगरपालिका तथा दक्षिणी क्षेत्रको बैकुण्ठे हुँदै हतुवागढी र आमचोक गाउँपालिका जोड्ने सडकमा यातायात सञ्चालनमा रोक लगाएको छ। त्यस्तै, मध्यपहाडी लोकमार्गमा रातको समयमा हुनसक्ने दुर्घटना तथा पहिरोको जोखिम न्यूनीकरण गर्न बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
अविरल वर्षाले धानबाली तथा पशुपालनमा समेत असर पुर्याएको स्थानीय किसानले बताएका छन्। भोजपुर नगरपालिका–४ दावा पशुपालन कृषक एकिन्द्रबहादुर विष्टले वर्षा र हिलोका कारण धानबालीसँगै व्यावसायिक पशुपालन प्रभावित भएको बताए। निरन्तरको वर्षाले पशुचौपायाका लागि घाँस, दाना र पानीको व्यवस्थापनमा समेत समस्या भएको उनको भनाइ छ।
जिल्लाका पहाडी तथा संवेदनशील क्षेत्रमा पहिरोको जोखिम बढेकाले उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
सम्भावित विपद्को व्यवस्थापन, अनुगमन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तहका प्रतिनिधि तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ। प्रशासनले विपद्को जोखिम कायम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा खोला, नदी र पहिरोग्रस्त क्षेत्र आसपास नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

























