वर्षा घट्दै, अब मौसम खुल्दै जाने संकेत

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १७:४२

काठमाडौं । केही दिनदेखि निरन्तर वर्षाले प्रभावित बनेको मौसम अब क्रमशः खुल्ने संकेत देखिएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै पश्चिमतिर सर्दै गएपछि पूर्वी तथा मध्य भूभागमा वर्षाको गतिविधि घटेको छ भने पश्चिमी क्षेत्रमा भने अझै वर्षाको प्रभाव कायमै छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा देशका अधिकांश भूभागमा वर्षा हटिसकेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा अघिल्ला दिनको तुलनामा वर्षा उल्लेख्य रूपमा घटेको छ।

Advertisement

मौसमविद् रोजन लामिछानेका अनुसार पानी पार्ने प्रणाली क्रमशः पश्चिमतिर सरेकाले पूर्वी भूभागमा मौसम सुधारको क्रममा छ। उनका अनुसार काठमाडौं उपत्यकामा पनि अघिल्ला दिनजस्तो लगातार भारी वर्षाको सम्भावना छैन। केही समय बादल लाग्ने र हल्का वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना कम हुँदै गएको छ।

तर पश्चिमी क्षेत्रमा भने तत्कालै वर्षाको जोखिम हटेको छैन। आज र आइतबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावनासमेत रहेकाले ती क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम अझै कायमै छ।

मौसमविद् विनोद पोखरेलका अनुसार भारी वर्षाको मुख्य अवधि अब करिब २४ घण्टा मात्रै बाँकी देखिएको छ। सुदूरपश्चिमदेखि गण्डकीसम्मका धेरैजसो क्षेत्र तथा बागमतीका केही दक्षिणी जिल्लामा यस अवधिमा वर्षा र त्यसबाट उत्पन्न जोखिम बढी रहने उनको भनाइ छ। पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा अत्यधिक वर्षा भएको उनले बताएका छन्।

विभागका अनुसार आइतबार साँझदेखि पश्चिमी क्षेत्रमा समेत वर्षाको गतिविधि घट्दै जानेछ। सोमबारदेखि काठमाडौं उपत्यकासहित पूर्वी र मध्य भूभागमा मौसममा उल्लेख्य सुधार आउने तथा अधिकांश स्थानमा आकाश खुल्ने सम्भावना छ। मंगलबारदेखि भने देशभर नै मौसममा थप सुधार आउने पूर्वानुमान गरिएको छ।

यससँगै केही दिनदेखि रोकिएको दैनिक जनजीवन, सडक यातायात तथा कृषि गतिविधिसमेत क्रमशः सहज हुने अपेक्षा गरिएको छ। तर लगातारको वर्षाका कारण जमिन गलेको, नदी तथा खोलामा पानीको सतह बढेको र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै मौसमविद्हरूले वर्षा घट्दै गए पनि जोखिमयुक्त क्षेत्रमा तत्कालै सावधानी हटाउन नहुने बताएका छन्।

विशेषगरी नदी तथा खोला किनार, पहिरोको जोखिम भएका बस्ती र यसअघि डुबानमा परेका क्षेत्रमा बसोबास गर्नेहरूलाई थप एक दिन सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्ण रूपमा स्थिर नहुँदासम्म अनावश्यक यात्रा नगर्न र विभागका नियमित पूर्वानुमान तथा चेतावनीमा ध्यान दिन पनि आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×