
काठमाडौं । अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपदमा परी हालसम्म ६ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बाढी, पहिरोलगायत विपदमा परी बागमती प्रदेशमा दुई, लुम्बिनीमा दुई, गण्डकीमा एक र कर्णाली प्रदेशमा एक जनाको मृत्यु भएको हो।
विपदमा परी दुई जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस अवधिमा विभिन्न स्थानबाट ४०७ जनाको उद्धार गरिएको छ।
प्रहरीका अनुसार बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम पनि भइरहेको छ।
जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षाका लागि विभिन्न निकाय र स्थानीयवासीसँगको समन्वयमा काम भइरहेको प्रहरीले जनाएको छ।

























