कोशीबाट बाहिरियो न्यूनचापीय प्रणाली, आइतबारदेखि मौसम खुल्ने

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार २०:३३

काठमाडौं । न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ । मौसमविद् उज्वल उपाध्यायका अनुसार प्रणाली कोशी प्रदेशबाट बाहिरिइसकेको छ भने बागमती र मधेसमा यसको प्रभाव हल्का छ ।

आज -शनिबार) बेलुकी ८ बजेको अवस्थाअनुसार कोशी, मधेस र बागमतीमा अब यस प्रणालीबाट ठूलो जोखिम नरहेको उपाध्यायले बताएका छन् । तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा यसको प्रभाव अझै कायम रहेकाले शनिबार रातभर ती क्षेत्रमा वर्षा हुने र केही भूभागमा ठूलो वर्षासमेत हुन सक्ने उनको भनाइ छ ।

Advertisement

उनका अनुसार आइतबार बिहानदेखि कोशी र मधेसमा मौसम खुल्ने देखिएको छ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा पनि आइतबार मध्याह्नअघि मौसम खुल्ने र अपराह्नसम्म घाम लाग्ने सम्भावना छ ।

नारायणी नदीदेखि पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा भने मौसम पूर्णरूपमा खुल्न सोमबारसम्म पर्खनुपर्ने देखिएको उपाध्यायले बताएका छन् ।

उनका अनुसार कोशी र मधेसमा आइतबार बिहानदेखि तथा बागमतीमा मध्याह्नपछि लामो दूरीको यात्रा गर्न सकिने अवस्था बन्नेछ । तर यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र अघि बढ्न उनले सुझाव दिएका छन् ।

उपाध्यायका अनुसार त्यसपछि कम्तीमा एक सातासम्म देशमा ठूलो वर्षाको सम्भावना छैन। यद्यपि मनसुनी प्रणाली देशभर नै कायम रहेकाले सामान्य वर्षा भने हुन सक्नेछ । ‘अब करिब १२ घण्टा उच्च सतर्क रहने पालो पश्चिम नेपालको’ भन्दै उनले गण्डकीदेखि सुदूरपश्चिमसम्मका क्षेत्रमा शनिबार राति विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यसैबीच, तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आरिघोप्टेसम्मको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । महाशाखाले देशको पूर्वी क्षेत्रमा जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ ।

सोमबारदेखि भने देशभरको मौसम खुल्ने जनाइएको छ । तर मनसुन सक्रिय रहेकोले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमिन भिजेको अवस्था रहेकोले केही दिन सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×