
काठमाडौं । खराब मौसम र कम भिजिबिलिटीका कारण आज (आइतबार) आन्तरिक हवाई उडान प्रभावित भएका छन्। मौसम प्रतिकूल भएपछि पहाडी तथा तराईका केही गन्तव्यको उडान तालिका प्रभावित भएको हो।
बुद्ध एयरका अनुसार कम भिजिबिलिटीका कारण भरतपुर र तुम्लिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन्। मौसममा सुधार भई भिजिबिलिटी नबढेसम्म यी गन्तव्यका उडान सुचारु गर्न नसकिने कम्पनीले जनाएको छ।
पोखरा विमानस्थलको भिजिबिलिटी भने क्रमिक रूपमा सुधार भइरहेको छ। भिजिबिलिटीमा थप सुधार आएपछि पोखराका उडान नियमित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
मौसम प्रतिकूल रहेकाले आजका लागि तय गरिएका सबै माउन्टेन उडानसमेत रद्द भएका छन्। कम भिजिबिलिटीका कारण हिमाल देख्न नसकिने र उडानसमेत जोखिमपूर्ण हुने भएकाले माउन्टेन फ्लाइट रद्द गरिएको बुद्ध एयरले जनाएको छ।



















