फाइल तस्बिरपोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नम्बर ३ दानामा घर पुरिँदा दुई जना र वडा नम्बर ५ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको हो।
‘गाउँपालिकाभरि नै अवस्था निकै नाजुक छ। वडा नम्बर ३ दानामा घर पुरिएर दुई जना र वडा नम्बर ५ मा पहिरोमा परेर दुई जना गरी चार जनाको मानव क्षति भइसकेको छ,’ उनले भने।
पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल पुगेर उद्धार तथा क्षतिको विवरण संकलन गर्न समस्या भइरहेको अध्यक्ष पुनले बताए। ‘जताततै पहिरो छ। स्थलगत रूपमा जान सकिएको छैन। हेलिकप्टरमार्फत उद्धार गर्न समन्वय भइरहेको छ,’ उनले भने।
गाउँपालिकाभरि मोबाइल तथा इन्टरनेट नेटवर्कसमेत अवरुद्ध हुँदा क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए। ‘सबैभन्दा ठूलो समस्या नेटवर्क नटिपेर भएको छ, सम्पर्क विच्छेद छ,’ पुनले भने, ‘त्यसैले यकिन तथ्याङ्क आउन बाँकी छ। तर हालसम्म प्राप्त रिपोर्टअनुसार १०–१२ वटा घरमा क्षति पुगेको छ।’
यसैगरी, पोखरे बगरस्थित पुलसमेत जोखिममा परेको छ। पुल बगिसकेको छैन, तर दुवैतर्फको जग कटान भइरहेकाले जुनसुकै बेला बगाउन सक्ने जोखिम रहेको अध्यक्ष पुनले बताए।
उनका अनुसार कालीगण्डकी नदीभन्दा पनि बस्तीमाथिबाट खसेको पहिरोले बढी क्षति पुर्याएको छ। ‘वडा नम्बर २ र ३ मा विशेषगरी कालीगण्डकीले असर गरेको हो। वडा नम्बर ५, ७ र ८ मा भने कालीगण्डकीभन्दा पनि माथिबाट आएको पहिरोले क्षति पुर्याइरहेको छ,’ उनले भने।



















