
काठमाडौं । लगातारको वर्षाले काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकमार्गहरु प्रभावित भएका छन् । पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा डाइभर्सन बगाउने क्रम नरोकिएपछि पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्गको धादिङ खण्डमा ठूलो पहिरो खसेपछि सडक खुलाउन सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन भएका छन् । गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बांगेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार कृष्णभिरमा खसेको पहिरो हटाइसकेपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । तर, चालिसे र बांगेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले पृथ्वी राजमार्गमा नियमित यातायात सञ्चालन हुन सकेको छैन ।
ठूलो मात्रामा लेदोसहित पहिरो खसेकाले सडक सफा गर्न समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो हटाउने क्रममा समेत माथिबाट पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले सडक खुलाउने काम सावधानीपूर्वक भइरहेको छ ।
वर्षाका कारण काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने अन्य प्रमुख सडकमार्ग पनि प्रभावित भएका छन् । बीपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा पहिरो तथा बाढीले सडकमा बनाइएको डाइभर्सन बगाएपछि यातायात ठप्प भएको छ ।
कान्ति लोकपथको ठिंगन तथा फर्पिङ–फाखेल खण्डमा पनि पहिरो खसेको छ । ती स्थानमा सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यात्रु तथा चालकलाई तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । सडकको अवस्था नबुझी यात्रा नगर्न र वर्षा भइरहेको समयमा पहाडी सडकमा अनावश्यक यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यसबीच दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन तथा टाटा सुमो सञ्चालन भइरहेका छन् । ठूला सवारीसाधनलाई त्रिभुवन राजपथबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले बताए ।
दक्षिणकाली–सिस्नेरी र त्रिभुवन राजपथमा सवारीसाधनको चाप, सडकको अवस्था र मौसमलाई हेरेर निश्चित समयतालिकाका आधारमा आलोपालो सवारी सञ्चालनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट बाहिरिने र भित्रिने प्रमुख सडकहरू एकैपटक प्रभावित भएपछि लामो दूरीका यात्रुहरू बाटोमै अलपत्र पर्ने अवस्था आएको छ । विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा पहिरो तथा बाढीका कारण सवारीसाधन रोकिएका छन् ।
प्रहरीले अवरुद्ध सडक जबर्जस्ती पार गर्ने प्रयास नगर्न, सडक खुलेको आधिकारिक सूचना आएपछि मात्र यात्रा गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ । लगातार वर्षा भइरहेकाले सडक खुलिसकेपछि पनि माथिबाट पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।



















