
काठमाडौं । नेपालमा मनसुनी र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभाव कायमै छ । मौसम प्रणालीको प्रभावका कारण आज (सोमबार) देशका विभिन्न भू–भागमा वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्यतया बदलीको अवस्था छ । पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईका अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । देशका हिमाली तथा पहाडी क्षेत्रका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिमको तराई क्षेत्रका केही स्थानमा तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
रातको समयमा हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहने भए पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ । हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा रातिसमेत मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ ।
महाशाखाले वर्षाका कारण गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसममा आउने परिवर्तनले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण, स्वास्थ्य तथा उद्धार र राहतका काममा समेत असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ ।
महाशाखाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न तथा सोहीअनुसार आवश्यक तयारी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

























