विराटनगर कांग्रेसको नेतृत्वका लागि कार्की र गिरी आमनेसामने

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार ०७:२७

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको नयाँ नेतृत्व चयनका क्रममा सभापति पदमा कृष्णबहादुर कार्की र केशव गिरीबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै जनाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएपछि महानगरको नेतृत्व चयन निर्वाचनबाट हुने निश्चित भएको हो ।

निर्वाचन समितिका अनुसार कार्कीको प्रस्तावक भोजराज निरौला र समर्थक पंकज घिमिरे छन् । गिरीको प्रस्तावक पर्शुराम कटुवाल र समर्थक शम्भु चौधरी रहेका छन् । यससँगै विराटनगर कांग्रेसको नयाँ नेतृत्वका लागि कार्की र गिरी आमनेसामने भएका हुन् ।

Advertisement

महानगर समितिको उपसभापतिमा भने शुभाशिष कोइराला निर्विरोध निर्वाचित भएका छन् । तोकिएको समयभित्र उपसभापति पदमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । त्यस्तै, सचिवमा वीरेन्द्रप्रसाद यादवको मात्रै उम्मेदवारी परेपछि यादव पनि निर्विरोध निर्वाचित भएका छन् ।

महिला उपसभापति पदका लागि भने श्रुती शर्मा र कृष्णाकुमारी साहबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूका अनुसार विराटनगर महानगरको नयाँ कार्यसमिति चयनका लागि मंगलबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका तय गरिएको छ । सोमबारसम्ममा क्षेत्रीय अधिवेशन सम्पन्न गरिने उनले बताए ।

महानगर समितिको सभापतिसहित महिला उपसभापतिमा निर्वाचन हुने भएपछि विराटनगर कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिनिधिहरूको मत निर्णायक हुने भएको छ । उपसभापति र सचिवमा भने निर्वाचनअघि नै नेतृत्वको टुंगो लागेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×