प्रतीकात्मक तस्बिरइलाम । सूर्योदय नगरपालिका–३ जिल गाउँमा आज (सोमबार) बिहान आगलागी हुँदा एक घर र एउटा गाडी जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
स्थानीय सन्तुलाल तामाङको पक्की पिलर, काठ र टिनले बनेको एकतले घरमा बिहान करिब २ः३० बजे भान्सा घरबाट आगो लागेको बताइएको छ । आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीले जाणकारी दिए ।
स्थानीय, प्रहरी र सूर्योदय नगरपालिकाको दमकलको सहयोगमा बिहान ४ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । छिमेकी पासाङ तामाङले घरअगाडि पार्किङ गरी राखेको प्र.१–०१–००२ च १३९३ नम्बरको डबल क्याप गाडी समेत पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।

























