
काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ। गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिए।
लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ। सङ्कलन गरिएको तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। आर्थिक गणनामा १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना भएको थियो।
प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक, सेवामूलक अन्तरराष्ट्रिय वा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने छ। यस्तै, कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्टि गर्ने काम भइरहेको निर्देशक डा. ढकालले उल्लेख गरे।
करिब दुई लाख व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रविष्ट गरिएको छ भने करिब छ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न गरिसकिएको छ। व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानको सङ्ख्या अलगअलग गणना गरी समावेश गरिनेछ । तथ्याङ्क प्रविष्टलगायत कार्यका लागि २०० जनशक्ति व्यवस्थापन गरिएको छ।

























