
काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले आगामी बडादसैं, तिहार, छठलगायत चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। समितिको आज (सोमबार) बसेको बैठकमा भएको छलफलबाट प्राप्त सुझाव र सल्लाहका आधारमा यस्तो निर्देशन दिइएको समितिका सभापति आशीष गजुरेलले जानकारी दिए।
चाडपर्वमा यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन परिचालन गर्न, निर्धारित बसपार्कबाट मात्रै सवारी सञ्चालन गर्न, तोकिएका स्थानबाट टिकट बिक्री गर्न तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ।
त्यस्तै, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री सेवा, यात्रु सहायता कक्ष र आवश्यक सहजीकरणको व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई भनिएको छ। यात्रुको चाप र सडकको अवस्थालाई ध्यानमा राख्दै सम्भावित जोखिमको पूर्वमूल्याङ्कन, वैकल्पिक मार्गको तयारी, सवारीसाधनको प्राविधिक परीक्षण, चालकलाई पर्याप्त विश्राम तथा गति नियन्त्रणको व्यवस्था सुनिश्चित गर्न समितिले ध्यानाकर्षण गराएको छ।
क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नियन्त्रण गर्न, एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन गर्न तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न पनि समितिले निर्देशन दिएको छ। यात्रुले टिकट नपाउने, तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने तथा टिकटमा अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिन तत्काल कार्ययोजना बनाएर लागू गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ। भाडादरको प्रभावकारी कार्यान्वयन र यात्रुका गुनासा तत्काल सुनुवाइ गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ।
समितिले २०८३ सालको दसैं, तिहार तथा छठलगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सहज, व्यवस्थित र मर्यादित बनाउन यसअघि गठन गरिएको उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्य चयन गर्ने निर्णयसमेत गरेको छ। सडक यात्राका क्रममा खानेपानी, खाजा, खाना तथा अन्य उपभोग्य वस्तुमा यात्रु ठगिन नदिन मूल्य र गुणस्तरको प्रभावकारी अनुगमन गर्न पनि सम्बन्धित निकायलाई समितिले निर्देशन दिएको छ।

























