सुकेटार विमानस्थलमा साढे तीन महिनापछि उडान

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १६:१५

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि आज (सोमबार) हवाई उडान भएको छ । मौसममा सुधार आएपछि नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ उडान गरेको हो ।

काठमाडौंबाट १३ जना यात्रु लिएर आएको निगमको जहाज ताप्लेजुङबाट पाँच जना यात्रु लिएर काठमाडौं फर्किएको थियो । बर्खायामसँगै मौसम प्रतिकूल भएपछि गत जेठ २२ गतेदेखि सुकेटारमा नियमित उडान हुन सकेको थिएन । निगमको उडान तालिका रहे पनि प्रतिकूल मौसमका कारण उडान सञ्चालन हुन सकेको थिएन । यसका कारण यात्रुले टिकट लिएर पनि जहाजको सेवा लिन नपाई फर्किनुपर्ने अवस्था थियो ।

Advertisement

फेरि उडान सुरु भएपछि मौसम अनुकूल रहे नियमित उडान हुनेमा यात्रु आशावादी भएका छन् । दसैँ–तिहारजस्ता चाडपर्व नजिकिँदै गएको र पर्यटकीय मौसमसमेत सुरु भएकाले नियमित हवाई सेवा सञ्चालन भए यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।

सुकेटारस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले मौसममा सुधार कायम रहे नियमित उडान सञ्चालन हुने बताए । उनका अनुसार मौसम प्रतिकूल भएकै कारण लामो समयदेखि सुकेटारमा उडान हुन सकेको थिएन ।

सुकेटार विमानस्थलमा हाल नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएको छ । निगमका अनुसार काठमाडौंबाट ताप्लेजुङका लागि प्रतियात्रु भाडा १२ हजार २७० रुपैयाँ र ताप्लेजुङबाट काठमाडौंका लागि १२ हजार ७० रुपैयाँ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×