
काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन् । आज (सोमबार) राष्ट्रियसभा बैठकमा बोल्दै सांसद ढुंगानाले वर्तमान सरकारको कार्यशैली निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाए । उनले लोकतान्त्रिक व्यवस्थामा समेत पञ्चायती शैलीको अभ्यास दोहोरिन थालेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
जबरालाई मध्यरातमा बिना पुर्जी पक्राउ गरिएको भन्दै उनले यस घटनाले कानुनी शासनमाथि प्रश्न उठाएको बताए । उनले प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा यसबारे जवाफ दिनुपर्ने मागसमेत गरे । सरकारले दुई तिहाइको दम्भमा स्वेच्छाचारी निर्णय गरिरहेको आरोप लगाउँदै ढुंगानाले संसद् र जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह गरे ।
‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिनाजानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ,’ उनले भने ।
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा हुकुमी शासन लाद्न खोजेको उनको आरोप थियो । कुनै पनि घटनाबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने र जनताप्रतिको संवैधानिक दायित्व पूरा गर्नुपर्ने उनले बताए ।
लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता र युवा पुस्ता बलिदान दिनसमेत तयार रहेको उल्लेख गर्दै ढुंगानाले सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरे । सरकार निरंकुशतातर्फ अघि बढे देश गम्भीर दुर्घटनामा पर्न सक्ने उनको चेतावनी थियो ।

























