
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान १० बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्दैछ । बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न विधेयक तथा समितिको प्रतिवेदनसम्बन्धी कार्यसूची तय गरेको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । मन्त्री गौतमले नै केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ पनि बैठकमा प्रस्तुत गर्नेछन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसैबीच, अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत मंगलबार नै बस्ने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने विधेयक तथा प्रतिवेदनमाथिको प्रक्रिया सम्भावित कार्यसूचीअनुसार अघि बढ्नेछ ।

























