
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सहायक सडक प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा ललितपुरको कान्तिलोकपथ र टिकाभैरव–चारघरे सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन्। धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि सुरक्षाका कारण हाल आवागमनमा रोक लगाइएको छ। हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण बन्द भएका छन्।
कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्गमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन र पैदल यात्रुको आवागमनमा रोक लगाइएको छ। गण्डकी प्रदेशमा मनाङको चामे–बेँसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पूर्ण रूपमा बन्द छन्।
मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुंगा–बेनी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, लमजुङको मध्यपहाडी लोकमार्ग तथा तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा खण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्गको गगने खोला र मुगुको नाग्म–गमगढी सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छन्।
प्रहरी र स्थानीय प्रशासनले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन्। सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

























