
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको बिदाइ भेटमा प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका छन्।
भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का समयमा भारत सरकारले गरेको सहयोगका लागि विशेष धन्यवाद दिएका छन्। उनले राजदूत श्रीवास्तवलाई कार्यकाल पूरा गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत दिएका छन्।
भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी दिएका छन्। नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार र नेपाली जनताप्रति उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।

























