
काठमाडौं । देशका अधिकांश भू–भागमा आज (बुधबार) मौसम आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले हिमाली क्षेत्रमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
बुधबार दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ । त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
रातको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।
तराईका अधिकांश भू–भागमा भने रातिसमेत मौसम मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

























