
काठमाडौं । बीसौँ एसियाली खेलकुदमा नेपाली खेलाडीले विभिन्न खेल विधामा आफ्नो प्रतिस्पर्धा अघि बढाउँदैछन्। आज (बुधबार)देखि गल्फ र जुडोका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
गल्फमा नेपालका सुवास तामाङ र राहुल विश्वकर्माले पुरुष व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। महिला व्यक्तिगत स्ट्रोक प्लेमा भने तारा कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले प्रतियोगिताअघि खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएको भन्दै राम्रो प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरेका छन् । उनका अनुसार तयारीका आधारमा नेपाली टोलीबाट सकारात्मक नतिजाको आशा गरिएको छ ।
जुडोतर्फ निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । निशाले ४८ किलोमुनि, देवकीमायाले ५२ किलोमुनि, विशेषले ६६ किलोमुनि तथा विकासले ६० किलोमुनिको स्पर्धामा सहभागिता जनाउनेछन् ।
यसैबीच, कनोइङ स्लालममा नेपालका विजय माझी र आशिष रानामगर पुरुष कायक एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्डको समय निकाल्दै १५औँ र आशिषले २११.८६ सेकेन्डमा १६औँ स्थान हासिल गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार जारी एसियाली खेलकुदमा नेपालबाट विभिन्न खेल विधामा गरी १३५ जना खेलाडी सहभागी छन् ।



















