
विराटनगर । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ विराटनगर रेन्बोले आफ्नो तेस्रो स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ ।
स्थापना दिवसको अवसरमा सुनसरीको बर्जु गाउँपालिका–२ स्थित राम–सीता माध्यमिक विद्यालयको अपांगता स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । यस्तै, सोही गाउँपालिकाका अपांगता भएका व्यक्तिका लागि वित्तीय साक्षरता तालिमसमेत सञ्चालन गरिएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष आकृति रानी फुयलले गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरज मेहता, शिक्षक–शिक्षिका, बर्जु गाउँपालिकाका विभिन्न स्थानबाट आएका अपांगता भएका व्यक्ति तथा क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । क्लबकी सचिव अञ्जली चौधरीले स्थापना दिवसलाई केवल उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।
अध्यक्ष फुयलले स्थापना दिवसका नाममा तडकभडकपूर्ण कार्यक्रम गरेर अनावश्यक खर्च गर्नुभन्दा लायन्सको सेवा र मानवीय सहयोगको उद्देश्यअनुसार समुदायको आवश्यकता पहिचान गरी सहयोग गर्नुपर्ने बताइन् । राम–सीता माध्यमिक विद्यालयको अपांगता स्रोत कक्षाको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको उनले जानकारी दिइन् ।
अपांगता भएका व्यक्तिलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने उद्देश्यले वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको पनि उनले बताइन् । स्थापना दिवसलाई केक काट्ने र उत्सव मनाउने दिनमा सीमित नगरी समुदायमा सकारात्मक प्रभाव पार्ने सेवा तथा सहयोगको अवसरका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमबाट अपांगता भएका व्यक्तिमा वित्तीय ज्ञान तथा आर्थिक सचेतना बढ्नुका साथै स्रोत कक्षामा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा खेलकुद गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । क्लबले आगामी दिनमा पनि ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै सामाजिक सेवा, अपांगता समावेशिता र समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

























