
काठमाडौं । झापा आन्दोलनका अग्रणी योद्धा घनेन्द्र बस्नेतको निधनका कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बिहीबार (आज) का लागि तय गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने भनिएको शपथ ग्रहण कार्यक्रम असोज १६ गते दिउँसो ३ बजेका लागि सारिएको छ । एमालेले असोज ५ देखि ८ गतेसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकबाट ३३ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
दिवंगत नेता बस्नेतलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको दुवाकोटस्थित क्यान्सर अस्पताल पुग्दै छन् । पारिवारिक स्रोतका अनुसार बस्नेतको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शव गृहमा अन्तिम संस्कार गरिने कार्यक्रम छ ।
वि.सं. २००९ असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका घनेन्द्र बस्नेत तत्कालीन झापा आन्दोलनका प्रमुख अगुवा नेताहरूमध्ये एक थिए । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको कठिन राजनीतिक संघर्षका क्रममा उनले निरन्तर १७ वर्ष कडा जेल जीवन बिताएका थिए ।
लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका नेता बस्नेतको गएराति उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनको निधनले नेपाली वामपन्थी आन्दोलन र लोकतान्त्रिक संघर्षको इतिहासमा एक अपूरणीय क्षति पुगेको छ ।

























