
सप्तरी । सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै तराई–मधेशका महिलाले मनाउने जितिया व्रत सुरु भएको छ । षष्ठी तिथिबाट विधि सुरु हुने व्रतमा सप्तमीका दिन निराहार तथा निर्जल उपवास बस्ने परम्परा छ ।
तराई-मधेशसँगै थारू समुदायमा पनि मनाइने जितियामा महिलाले नदी, पोखरी वा जलाशयमा स्नान गरी व्रतको संकल्प लिने तथा पितृ र ‘जिमुतवाहन’ देवताको पूजा गर्ने गर्छन् । व्रतको अघिल्लो दिन विभिन्न परिकार, दही, मिठाई, माछा तथा कोदोको रोटी खाने चलन छ । मुख्य दिन बिहान घिरौलाको पातमा दही, चिउरा, चिनी, केरा, मिठाई, पान र सुपारी राखेर पितृ तथा जिमुतवाहनलाई चढाउने गरिन्छ ।
तीन पुस्तासम्मका महिला पितृलाई तर्पण दिने परम्परा रहेको राजविराज–२ का ७५ वर्षीय शम्भु मिश्रले बताए । उनका अनुसार यसलाई ‘षोडश मातृका श्राद्ध’ पनि भनिन्छ । व्रतको अन्त्यमा छोराको संख्याअनुसार ‘डाली’ भर्ने, त्यसबाट प्रसाद निकालेर पितृ तथा जिमुतवाहनलाई चढाउने र परिवार तथा आफन्तलाई बाँड्ने चलन छ । त्यसपछि व्रतालुले व्रत तोड्ने गर्छन् ।
जितिया २४ देखि ३६ घण्टासम्म निराहार तथा निर्जल बस्नुपर्ने भएकाले कठिन व्रत मानिन्छ । पछिल्लो समय यसको अवसरमा सामूहिक दर, भेटघाट, गीत तथा सांस्कृतिक कार्यक्रम गर्ने क्रमसमेत बढेको छ ।



















