
काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्।
ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। रसुवामा बाढीका कारण मुख्य सडकहरू अर्को सूचना नभएसम्मका लागि अवरुद्ध छन्।
मनाङको बेशीसहर–खाङ्सार सडक खण्ड तथा म्याग्दीको बेनी–जोमसोम सडकअन्तर्गत बैसरी र सुकेबगरमा पहिरो जाँदा यातायात रोकिएको छ।
नवलपरासी पूर्वको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो खसे पनि सडक एकतर्फी सञ्चालनमा छ। त्यहाँ ठूला सवारी भने चल्न नसकेको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
हुम्लाका कर्णाली करिडोर र सिमकोट–हिल्सा सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। सम्बन्धित निकायले सडक खुलाउने प्रयास गरिरहेका छन्।



















