विराटनगरको घरभित्र भेटियो दुर्गन्धित शव

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १०:४१

विराटनगर । विराटनगरको एउटा घरभित्र दुर्गन्धित अवस्थामा शव फेला परेको छ । विराटनगर महानगरपालिका–१६ स्थित घरभित्र एक जना पुरुष मृत फेला परेका हुन् ।

स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान आफ्नै कोठाभित्र मृत भेटिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । श्रेष्ठ बस्ने कोठाबाट दुर्गन्ध आइरहेको जानकारी स्थानीयले दिएपछि इलाका प्रहरी कार्यालय रानीबाट इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

कोठाको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा रहेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका खोलेर हेर्दा दुर्गन्धित अवस्थामा श्रेष्ठको शव फेला परेको जानकारी मिश्रले दिए । उनका अनुसार श्रेष्ठ फ्रिजमा टाँसिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन् । उनको मृत्यु दुई–तीन दिनअघि नै भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनास्थलको प्रकृति हेर्दा फ्रिज खोल्ने क्रममा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । फ्रिजमा टाँसिएर लडिरहेको अवस्थामा शव भेटिए पनि घटनाको वास्तविक कारण खुल्न बाँकी छ ।

सिटी सफारी चलाउँदै आएका श्रेष्ठकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा रहेको र छोरा काठमाडौंमा बस्दै आएको खुलेको छ । घटनाको जानकारी पाएपछि उनका छोरा विराटनगर आउँदै गरेको जनाइएको छ ।

प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको छ । श्रेष्ठको मृत्युको यकिन कारण भने अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर इन्स्पेक्टर घिमिरे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×