
विराटनगर । जापानमा भएको २० औँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली शुक्रबार राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो ।
स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका छन् । यस पटक नेपालले पदक जित्न नसके पनि समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको थियो ।
नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि पराजित गर्न सफल भयो । नेपालले अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।
समूह चरणको अन्तिम खेलमा आयोजक जापानसँगको खेल भने वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले अंक बाँडेका थिए । समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।
श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल पनि वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । आईसीसी टी–२० वरियतामा नेपाल श्रीलंकाभन्दा पछाडि रहेका कारण वर्षाका कारण खेल हुन नसकेपछि श्रीलंका अघि बढेको थियो ।
एसियाली खेलकुदको क्रिकेटतर्फ नेपालले हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन।



















