
विराटनगर । भारतको उत्तराखण्डमा केन्द्रविन्दु बनाएर गएको ५.१ रेक्टर स्केलको भूकम्पको धक्का नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति १०ः३८ बजे गएको भूकम्पको केन्द्रविन्दु नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिमतर्फ भारतको उत्तराखण्ड क्षेत्रमा रहेको थियो । भूकम्पको धक्का दार्चुलासहित बैतडी, डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस भएको हो । रातिको समयमा अचानक घर तथा आसपासका संरचना हल्लिएपछि कतिपय स्थानीय बासिन्दा त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।
भूकम्पको धक्का केही समय महसुस भए पनि हालसम्म मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छैन । स्थानीय प्रशासन र सुरक्षा निकायले भूकम्पको प्रभाव तथा सम्भावित क्षतिको अवस्थाका बारेमा जानकारी संकलन गरिरहेका छन् ।
भारतको उत्तराखण्ड भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील मानिन्छ । त्यहाँ आउने भूकम्पको प्रभाव सीमावर्ती नेपालका सुदूरपश्चिमका जिल्लासम्म महसुस हुने गरेको छ ।



















