
रौतहट । रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गरेको १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालित बोर्डर एक्सन टिम र भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार गौर नगरपालिका-१ स्थित भन्सार कार्यालयको गेटअगाडि चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी यात्रुवाहक टाटा सुमोको छतमा राखिएको आलुको बोराभित्र लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा १२ थान मोबाइल फोन बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार बरामद मोबाइलको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको छ । मोबाइलसहित भारतको सीतामढी जिल्ला, असोगी ग्राम वडा नम्बर ४ बस्ने करिब ४१ वर्षीय अमरनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चौधरी र बरामद मोबाइललगायतका सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

























