सांकेतिक फोटो ।विराटनगर । विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१८ स्थित पेट्रोल पम्प अगाडिबाट आइतबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार भारतको बिहार राज्य अररिया जिल्ला जोगबनी कुश्मा–७ का १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधाकृष्ण रायलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई रोकेर चेकजाँच गरेको थियो । साइकलमा सवार उनीहरूमध्ये पछाडि बसेका राधाकृष्ण को साथबाट ५२ ग्राम १५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषध र साइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























