
दमक । विदेशमा आर्जन गरेको व्यावसायिक अनुभवलाई स्वदेशमै लगानीमा रूपान्तरण गर्दै एभरेष्ट हाइपरमार्केट प्रालिले झापाको दमकमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
दमक नगरपालिका–६ स्थित थाना रोडमा करिब १० करोड रुपैयाँको लगानीमा खुलेको नयाँ शाखाले स्थानीय बजारमा किनमेलको सुविधा विस्तार गर्नुका साथै रोजगारीका अवसरसमेत सिर्जना गरेको छ । विजयादशमीको अवसर पारेर घटस्थापनाका दिन सञ्चालनमा आएको शाखाको उद्घाटन दमक नगरपालिकाका प्रमुख राम थापाले गरेका हुन् ।
नयाँ ‘आउटलेट’मा खाद्यान्न, दैनिक उपभोग्य सामग्री, सागसब्जी, लत्ताकपडा, जुत्ताचप्पल तथा घरायसी आवश्यकताका वस्तु एउटै छानामुनि उपलब्ध हुनेछन् । बाह्रदशी गाउँपालिका–२, जनता निवासी युवा व्यवसायी चान मोहम्मदले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा दमकमा नयाँ शाखा सञ्चालनमा ल्याएका हुन् ।
कम्पनीले उपभोक्तालाई गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने र किनमेललाई सहज बनाउने लक्ष्य लिएको छ । हाइपरमार्केट बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।
एभरेष्टको व्यावसायिक यात्रा कोरोना महामारीका बेला झापाको राजगढबाट सुरु भएको थियो । कम्पनीले सन् २०२१ मा पहिलो शाखा सञ्चालन गरेको थियो भने सन् २०२४ मा बिर्तामोडमा दोस्रो शाखा विस्तार गरेको थियो । राजगढमा हाइपरमार्केटसँगै एभरेष्ट डिजिटल सिनेमा हलसमेत सञ्चालनमा छ ।
कम्पनीका सञ्चालकले अन्तर्राष्ट्रिय बजारमा स्थापित लुलु हाइपरमार्केटमा करिब दुई दशक काम गरेको अनुभवलाई स्वदेशमा उपयोग गरिरहेका छन् । विदेशमा सिकेको व्यवस्थापकीय सिप र व्यावसायिक अभ्यासमार्फत नेपाली बजारमा सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।
एभरेष्ट हाइपरमार्केटअन्तर्गतका व्यवसायमा एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । दमकको नयाँ शाखामा मात्रै करिब ३० जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै साना उत्पादक तथा उद्यमीका सामग्रीलाई बजारसम्म पुर्याउने लक्ष्यसमेत कम्पनीले लिएको छ ।
राजगढबाट बिर्तामोड हुँदै दमकसम्म आइपुगेको कम्पनीले आगामी दिनमा इटहरी र काठमाडौंमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । दमकको उद्घाटन कार्यक्रममा नगरप्रमुख राम थापा, वडाध्यक्ष टेकबहादुर थापा, उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र ढकाललगायत सहभागी थिए ।



















