पहिरोले थुनिएको नदी फुट्दा बूढीगण्डकीमा विनाशकारी बाढी आएको हुन सक्ने

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २६, सोमबार ०७:४२

काठमाडौं । गोरखाको चुम्चेत नजिक पहिरो खसेर बूढीगण्डकी नदीको बहाव रोकिएपछि बनेको अस्थायी बाँध फुट्दा विनाशकारी बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)ले घटनाको प्रारम्भिक विश्लेषण गर्दै यस्तो सम्भावना औंल्याएको हो ।

आइतबार बिहान करिब ४ बजेदेखि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ । घर, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको तथा केही व्यक्ति बेपत्ता भएको विवरण सार्वजनिक भएका छन् । यद्यपि, घटनामा भएको मानवीय क्षति र भौतिक क्षतिको यकिन विवरण आउन बाँकी छ ।

इसीमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङले उपलब्ध सूचनाका आधारमा बाढी पहिरोबाट बनेको अस्थायी अवरोध फुटेर आएको हुन सक्ने बताएका छन् । नेपाली समयअनुसार आइतबार बिहान ११ः३० बजेसम्म सार्वजनिक भएका विवरणमा आधारित यो प्रारम्भिक विश्लेषण भएकाले अनुसन्धानसँगै घटनाको वास्तविक कारण र क्षतिको विवरण स्पष्ट हुँदै जाने उनको भनाइ छ ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नेपाली सेनाबाट प्राप्त विवरणका आधारमा नदी थुनिएर बनेको अस्थायी बाँध फुटेको हुन सक्ने अनुमान गरेको थियो । बाढीले गोरखाको सेल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनास्थलमा समेत गम्भीर क्षति पुगेको प्रारम्भिक विवरण छ ।

नदीले कालो माटो, गेग्रान र विभिन्न अवशेष बगाएर तल्लो तटीय क्षेत्रमा पुर्‍याएको थियो । पानीको सतहमा उतारचढाव र जोखिम बढेपछि बूढीगण्डकीसँगै त्रिशूली र नारायणी नदी प्रणाली आसपासका बासिन्दालाई सतर्क रहन भनिएको थियो ।

प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार, विस्थापितको स्थानान्तरण र अस्थायी बसोबासको व्यवस्था मिलाउने काम गरिरहेका छन् । रसुवा–भोटेकोशी क्षेत्रमा बाढी आएको केही समयपछि बूढीगण्डकीमा अर्को विनाशकारी बाढी आउनुले हिमाली क्षेत्रमा प्राकृतिक विपद् एकपछि अर्को रूपमा विकसित हुन सक्ने जोखिमलाई पुनः उजागर गरेको इसीमोडले जनाएको छ । एउटा प्राकृतिक घटनाले अर्को विपद् निम्त्याउँदा जनधनसँगै सडक, पुल र जलविद्युत्जस्ता महत्त्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुग्न सक्ने उसको विश्लेषण छ ।

इसीमोडका महानिर्देशक पेमा ग्याम्छोले हिमाली समुदाय र नदी करिडोरहरू अचानक उत्पन्न हुने तथा क्रमिक रूपमा विकसित हुने प्राकृतिक विपद्को जोखिममा रहेको बताएका छन् । उनका अनुसार तत्काल उद्धार र राहतलाई प्राथमिकता दिनु आवश्यक भए पनि भविष्यमा यस्ता घटना दोहोरिन नदिन बाढीको वास्तविक कारण पत्ता लगाउनु उत्तिकै महत्त्वपूर्ण छ ।

बूढीगण्डकीमा यसअघि पनि आएको थियो ठूलो बाढी

बूढीगण्डकी क्षेत्रमा सन् २०२४ को अप्रिलमा पनि ठूलो बाढीजन्य घटना भएको थियो । इसीमोडका अनुसार त्यसबेला मनास्लु हिमनदीको अग्रभागबाट विशाल हिमपहिरो खसेर वीरेन्द्र तालमा पुगेको थियो । हिमपहिरोका कारण तालको पानी विस्थापित भई अचानक बाहिर निस्कँदा बूढीगण्डकीमा आकस्मिक बाढी आएको थियो ।

इसीमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटनालाई हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–ग्लोफ) नभई हिमपहिरोले तालको पानी विस्थापित गराउँदा उत्पन्न भएको बाढीका रूपमा निष्कर्ष निकालेको थियो । झाङका अनुसार भिरालो हिमाली भू–भागमा पहिरोको जोखिम भएका क्षेत्र र नदी प्रणालीको एकीकृत निगरानी तथा मूल्यांकन आवश्यक छ ।

हिमाली क्षेत्रमा प्राकृतिक प्रक्रिया छोटो समयमै तीव्र रूपमा विकसित हुन सक्ने र त्यसको असर घटनास्थलभन्दा धेरै टाढासम्म पुग्न सक्ने भएकाले जोखिमको आकलन गर्दा समग्र नदी प्रणालीलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । इसीमोडले भविष्यमा विपद् जोखिम मूल्यांकन, पूर्वाधार निर्माण र पुनःस्थापनाका योजना बनाउँदा सम्भावित प्राकृतिक जोखिम, त्यसका कारण र तल्लो तटीय क्षेत्रमा पर्न सक्ने प्रभावलाई एकीकृत रूपमा समेट्नुपर्नेमा जोड दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.