
काठमाडौं । पश्चिमी वायु र मनसुनी वायुको प्रभावका कारण आज (मंगलबार) देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना छ । तराईका जिल्लामा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि तराईमा घाम लाग्ने सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
राति पनि हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
यसअघि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने लुम्बिनीको हिमाली भूभागमा पनि सामान्य बदली रहेको छ । अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम रहेको छ ।

























